रुट नपाउँदा इलेक्ट्रिक बस बिकेनन्

काठमाडौं, साउन १६ (नागरिक)- सार्वजनिक यातायातको रुपमा चलाउने रुट परमिट नपाएकाले राजधानीमा विद्युतीय बस भित्रिएको एक वर्षमा पनि बिक्री हुन सकेको छैन। यातायात व्यवसायीका संघहरुले रुट परमिटका लागि व्यवधान खडा गरेकाले बस बिक्री हुन नसकेको हो। गत वर्षदेखि राजधानीको बालुवाटारमा सोरुम खोलेर विद्युतीय बस बिक्री सुरु गरेको नेभी ट्रेड लिंकले हालसम्म एउटा मात्र बस बिक्री गरेको छ। त्यो पनि रुटमा चलाउने व्यवसायीलाई होइन, स्कुललाई।

रुट परमिटको समस्यासँगै लोडसेडिङले गर्दा पनि बस बिक्री हुन समस्या भएको छ। ‘बस बेच्न लोडसेडिङभन्दा पनि रुट परमिटको समस्या मुख्य देखियो,’ कम्पनीका अध्यक्ष विजयमान शेरचनले भने, ‘रुट परमिट लिन यातायात व्यवसायी महासंघको स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्थाले अप्ठेरो बनायो।’

प्रदूषण नगर्ने यस्ता बस किनेर चलाउन केही व्यवसायी उत्सुक भए पनि रुट परमिट समस्याकै कारण बिक्री नभएको उनले बताए। कम्पनीले एक वर्षमा एउटा बस बिक्री गरेको छ। यो बस रातो बंगाला स्कुलले किनेको हो।

‘रुट परमिट नपाएपछि इच्छुक व्यवसायीले पनि बस किन्न सकेका छैनन्,’ शेरचनले भने, ‘हामीले व्यवसायी संघ संस्थासँग छलफल गर्दैछौं, परमिट पाइएला जस्तो छ।’

प्रदूषण कम गर्ने खालका गाडी बिक्री बढ्ने अपेक्षा गर्दै राजधानीमा सफा टेम्पो चलाइरहेको नेभी समूहले गत वर्ष ब्याट्रीबाट चल्ने बस ल्याएको थियो। बससँगै बिक्री सुरु गरिएका कार भने बजारमा देखिन थालेका छन्। ‘रुट परिमिट समस्या नभएको भए बस पनि केही बिकिसक्थे,’ शेरचनले भने, ‘प्रोफेसनलले कार चाहिँ मन पराएका छन्।’

राजधानीमा ६ सय ५० वटा टेम्पो सञ्चालन गर्दै आएको नेभी समूहले सार्वजनिक यातायातको रुपमा चलाउन सकिने दुईखालका सफा बस बजारमा ल्याएको छ। चीनको गोन्जाउ लग्क्युङ इलेक्ट्रिक कार को-अपरेसनले उत्पादन गरेका सफा बस र कार बिक्री सुरु गरेको हो।


नेपाली ब्रान्ड नेममा कम्पनीले सफा बस र कारको बिक्री गर्दै आएको छ। कम्पनीले सफा-१ र सफा-२ ब्रान्ड नेममा १४ सिटे बस र बिजुली-१ र बिजुली-२ ब्रान्ड नेममा कार बजारमा ल्याएको छ। कम्पनीले एक वर्षमा १ सय ५० कार र बस बिक्री गर्ने लक्ष्य राखेको थियो।

सफा बसलाई यातायात व्यवस्था विभागले सार्वजनिक यातायतको रुपमा सञ्चालन अनुमति दिइसके पनि व्यवसायीका कारण बिक्री गर्न नसकिएको अध्यक्ष शेरचनले बताए। ‘हामीले रोड ओर्दिनेस टेस्ट पास गरिसकेका हौँ,’ उनले भने, ‘रुटको समस्या भएको मात्र हो।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भने विद्युतीय गाडीलाई रुट परमिट दिन महासंघले अवरोध नगरेको बताए।

उनले अहिले सफा टेम्पो चलेको रुटमा त्यसलाई हटाएर बस हाले आफूहरुले विरोध नगर्ने दाबी गरे। ‘महासंघले अप्ठेरो पारेको छैन,’ उनले भने, ‘पहिलेदेखि चलाइरहेकाको पनि समस्या हेर्नुपर्‍यो, पुरानो संरचना भत्काएरमात्र हुँदैन।’ उनले रुट परमिटको कारण देखाए पनि लोडसेडिङ र चार्जिङ स्टेसन नभएकाले व्यसायीले यस्ता बस नकिनेको दाबी गरे।

कम्पनीले हालसम्म ८ वटा कार भने बिक्री गरिसकेको छ। त्यसमध्ये ६ वटा बिजुली-२ र २ वटा बिजुली-१ कार बिक्री भएका हुन्। कम्पनीले बजारमा ल्याएका गाडीको ब्याट्री एकपटक चार्ज गरेपछि १ सय ६० किलोमिटरसम्म चलाउन सकिने दाबी गरेको छ। ६५ देखि १ सय ५ किलोमिटर प्रति घन्टाको गतिमा यी गाडी कुदाउन सकिने छ।

ह्याचब्याग सेडान समूहका फुल अप्सन कार बजारमा ल्याएको नेभीले यी कारमा मेन्टेन फ्रि ब्याट्री जडान भएको जनाएको छ। बसमा भने एसिड हाल्नुपर्ने खालको ब्याट्री जडान गरिएको छ। १ वर्ष वारेन्टी भएका गाडीमा जडिट ब्याट्री चार्च गर्न ८ देखि १० घन्टा लाग्छ भने पूरा चार्ज गर्न १८ युनिट विद्युत खपत हुन्छ।

कम्पनीले बजारमा ल्याएको बिजुली-१ कारको ब्याट्री क्षमता ७२ भोल्ट डिसी, ६.५ किलोवाट छ। यसको मूल्य साढे १० लाख रुपैयाँ छ। यसैगरी बिजुली-२ को ब्याट्री क्षमता १ सय २० भोल्ट डिसी ८.५ किलोवाट छ। यसको मूल्य साढे १९ लाख रुपैयाँ तोकिएको छ।

यसैगरी सफा-१ बसको ब्याट्री क्षमता ६७ भोल्ट एक्साइड ६.३ किलोवाट छ। यसको मूल्य साढे १६ लाख रुपैयाँ तोकिएको छ। सफा-२ बसको ब्याट्री क्षमता ७२ भोल्ट एक्साइड ५ किलोवाट छ। यसको मूल्य साढे १३ लाख पर्छ।

Click here for Original Post