साझाका अत्याधुनिक हरिया बस राजधानी भित्रिँदै

THURSDAY, 24 JANUARY 2013 15:54 नागरिक

सीबी अधिकारी, ललितपुर, माघ ११- लामो समयको प्रतीक्षापछि अब काठमाडौँ उपत्यकाका जनताले हरियो रङ्गको अत्याधुनिक साझा यातायात चढ्न पाउने भएका छन्। अस्तित्व नै समाप्त हुन लागेको मुलुककै जेठो साझा यातायातले आमउपभोक्तालाई मध्यनजर गर्दै अत्याधुनिक नयाँ संरचनाका साथ सेवा सञ्चालनको अन्तिम तयारी गरेको हो।

साझाले आफ्नो सेवालाई आधुनिक र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने उद्देश्यका साथ आफ्ना हरिया बस काठमाडौँ भित्र्याउने अन्तिम तयारीमा जुटेको छ। यही महिनाको अन्तिमसम्म सबै प्रक्रिया पूरा गरेर फागुनको दोस्रो सातादेखि बस सञ्चालन गर्ने साझाले जनाएको छ। साझाले वातावरण अनुकूल युरो-३ मापदण्डका अत्याधुनिक १६ वटा बस उपत्यकामा सञ्चालन गर्न लागेको छ।

नयाँ बसमा चालकसहित ५५ सिट र दुई ढोका हुने छन्। बसमा चालकद्वारा ढोका खोल्ने र बन्द गर्ने व्यवस्था भएको विद्युतीय पद्धतिबाट चालक नियन्त्रित ढोकाको व्यवस्था गरिएको छ। बसको सुरक्षा अनुगमन गर्न बसभित्रै सिसी टिभी र एलसिडी डेक्सटप मोनीटर जडान गर्ने तयारी भइरहेको छ।

पहिलो चरणमा अत्याधुनिक सुविधासम्पन्न १६ वटा बस चक्रपथभित्रका मुख्य दुईवटा रुटमा सञ्चालन गर्ने अन्तिम तयारी भएको साझा यातायातका कार्यकारी अधिकृत पदमलाल महर्जनले बताए।

“यात्रु सेवाका लागि अहिलेसम्मकै अत्याधुनिक बस सञ्चालनको अन्तिम तयारीमा छौँ, माघभरि सबै प्रक्रिया पुर्‍याएर फागुनको दोस्रो हप्तादेखि काठमाडौँका जनताले हरियो रङ्गको सुविधासम्पन्न बस चढ्न पाउनेछन्,” उनले भने।

उनले साझाले सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सरकार, नागरिक समाज, पत्रकार, यातायात व्यवसायी र आमउपभोक्तासमक्ष अपेक्षा गरेको छ भने। बस सञ्चालनका निम्ति साझाले दक्ष कर्मचारी, तालिम, पोसाकलगायतका व्यवस्था गरेको छ।

साझा यातायतका प्रबन्धक महेन्द्रराज पाण्डेले अत्याधुनिक प्रविधिमात्र नभइ दक्ष जनशक्तिका साथमा सेवा सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया भइरहेको बताए। उनले अहिले कर्मचारी भर्ना र छनौटको काम गरिरहेको जानकारी दिनुभयो। प्रबन्धक पाण्डेले भने, “साझा यातायातको विगतका राम्रा कुरालाई सिक्दै, खराबबाट पाठ सिकेर नयाँ किसिमबाट बस सञ्चालन गर्न लागिएको छ, यसले आमयात्रुलाई नयाँ अनुभूति पक्कै दिनेछ।”

साझाले आफ्नै स्रोतबाट बस खरिद गरी भन्सार तिरेर बस ल्याउन लागेको उहाँले बताउनुभयो। १६ वटा बसको भन्सारसहित करिब रु पाँच करोड मूल्य परेको साझाले जनाएको छ।

साझाका कार्यकारी अधिकृत महर्जनले हालै भारतको गोवामा गएर बसहरु निरीक्षणसमेत गर्नुभएको थियो। भारतको टाटा कम्पनीबाट खरिद गरिएका साझाका बस हाल भारतको रक्सौल भन्सार नाकामा आइपुगेका छन्।

त्यसैगरी, बस सञ्चालनका लागि रुट इजाजतका लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागसँग कुरा भई निर्धारणको अन्तिम तयारी भइरहेको साझाको भनाइ छ। राजनीतिक हस्तक्षेपबाट ग्रस्त अर्द्धसरकारी संस्थालाई गएको जेठ ६ गते भएको विशेष साधारणसभाले गैरसरकारी अवधारणामा रुपान्तरण गरेको थियो।

साझाले आफ्ना साझाका पुराना बसहरु लिलाम बिक्री गरेको र बहुमूल्य पुराना मेसिनरी सामान कार्यालयमा भण्डारण गरी राखेको छ। सेवा सञ्चालनमा सहजता ल्याउन केही कार्यालयहरु, भवनहरु, पार्किङ क्षेत्र र खाली जग्गालाई भाडामा लगाएर आएको आयआर्जनबाट कर्मचारीको तलब सुविधाको प्रबन्ध गर्ने साझाले जनाएको छ।

एक वर्षअघि भएको साझाको विशेष साधारणसभाले कनकमणि दीक्षितको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन गरेको थियो। यसअघि विनियम संशोधनपूर्व साझाको सञ्चालक समितिको अध्यक्ष श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रतिनिधि सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था थियो।

सरकारले वि.स. २०५८ माघ ११ देखि औपचारिकरुपमा साझा यातायात विघटन गरेको थियो। केही सेयर लगानीकर्ता र कर्मचारीको पहलमा पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता भई वि.सं २०५९ को अदालतको फैसलाबमोजिम वि.स. २०६२ देखि पुनः सञ्चालन गरिएको थियो।

पुनः सञ्चालनपश्चात साझाले काठमाडाँैदेखि वीरगन्ज, भैरहवा, स्याङ्जा, पाल्पा, गोरखालगायतका स्थानमा बससेवा सञ्चालन गरेको थियो। त्यसबेला साझाको उपत्यकामा मात्र ५० वटा बस सञ्चालनमा थिए।
सन् २००५ वैशाखदेखि साझाले काठमाडौँबाट तिब्बतको ल्हासासम्म दुईवटा बस र सोही अवधिमा काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सेवा सञ्चालन गरेको थियो। वि.स. २०१८ मा तत्कालीन राजा महेन्द्रको अग्रसरता र निजी क्षेत्रको संलग्नतामा साझा यातायात सुरु भएको थियो। साझा स्थापनादेखि वि.स.२०२६ र वि.स. २०५८ मा बन्द भई पुनः सञ्चालन हुँदै आएको थियो।

विसं. २०३७ मा जापान सरकारले सहयोग गरेपछि साझा यातायातमा १८३ वटासम्म बस थिए। देशका विभिन्न ठाउँबाट काठमाडौँसम्म चल्ने साझा यातायात लोकप्रिय हुँदाहुँदै चरम राजनीतिक हस्तक्षेप र २०६४ सालमा भएको कर्मचारी आन्दोलनलगायतका कारण २०५८ सालबाट पूर्णरुपमा बन्द भएको थियो। रासस

Click here for Original Post

Leave a comment